गोकर्णेश्वर नगरपालिकामा पाठेघर र स्तन क्यान्सरको निशुल्क उपचार

काठमाडौं १८ माघ । गोकर्णेश्वर नगरपालिकामा पाठेघर र स्तन क्यान्सरको निशुल्क उपचार गरिन्छ । गोकणेश्वर नगरपालिकाको आर्थिक सहयोगमा आम्दा नेपाल र गृहिणी महिला संघ नेपालको आयोजनामा पाठेघर र स्तन क्यान्सरको निशुल्क परिक्षण र उपचार भईरहेको हो । क्यान्सरका विरामी दिन प्रतिदिन बढिरहेका छन् । महिलाहरुमा हुने क्यान्सरमा पाठेघर र स्तन क्यान्सर महिलाहरुमा सवैभन्दा धेरै देखिने क्यान्सर हो । तथ्याकं अनुसार हरेक बर्ष नेपालमा ३ हजारको संख्यामा महिलामा उक्त क्यान्सर देखा पर्ने गरेको छ । पाठेघरको क्यान्सरको सुरुवाती अवस्थामा खासै लक्षण नदेखिने तर अन्तिम अवस्थामा पहिचान हुने र धेरै समस्या हुने गर्दछ । यो रोगको समयमै पहिचान हुन सके समाधान सजिलो छ । यस रोगको पहिचानका निम्ति नियमित रुपमा पाठेघरको मुखको जाँच गराउनुपर्छ । महिलाहरुको प्राणघातक यो रोगको चेकजाच गोकर्णेश्वर नगरपालिकाले निशुल्क गर्दै आएको छ । जाँच पश्चात क्यान्सर प्रमाणित भएमा निशुल्क उपचारको समेत व्यवस्था नगरपालिकाले गरेको छ । विगत ३ वर्षदेखि गोकर्णेश्वर नगरपालिकाले निशुल्क रुपमा महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर रोगको परिक्षण गरिरहेको छ । हालसम्म १५ हजार महिलाहरुले परिक्षण गराईसकेका छन् भने जसमध्य ७ सय जनालाई पाठेघरको मुखको चेक जाँचमा पोजेटिभ देखिएको थियो । चिकित्सकसँगको नियमित उपचार पश्चात उनिहरुमा सञ्चो भइसकेको नगरपालिकाले जानकारी दिएको छ । करिव ४ सय महिलामा स्तन क्यान्सरको लक्षणहरु देखिएको भएपनि समयमै उपचार पाएको कारण भविश्यमा हुन सक्ने स्तन क्यान्सरको भवितव्यबाट जोगिएका छन् । घर वाहिर र घर भित्र दोहोरो भूमिकामा रहेका महिलाहरुमा लुकेर रहेको यो जटिल रोगको पहिचान र परिक्षण आवश्यक रहेकोले निशुल्क रुपमा परिक्षण र उपचार थालेको नगर प्रमुख दिपक रिसालले बताउनु भयो । उहाँले भन्नुभयो, नगरपालिकाको भन्डै आधा जनसंख्या महिलाको छ,, उनिहरुको समस्या र समाधानमा नगरले कार्य गर्नुपर्छ । त्यसैको उपज हो स्तन र पाठेघरको मुखको क्यान्सरको निशुल्क उपचार । 

प्रतिक्रिया