@गीता गौतम धमला
काठमाडौं २८ साउन । सम्बन्ध भौतिकतालाई बलियो बनाउने भावनात्मक पक्ष हो । सम्बन्धका बिभिन्न रुपहरु छन् जस्तै रगतको सम्बन्ध, सामाजिक सम्बन्ध, व्यावसायिक सम्बन्ध र भावनात्मक सम्बन्ध।रगतको नाता वा सम्बन्ध हामीलाई जन्मदेखि नै मिलेको हुन्छ । रगतको नाताको सम्बन्धमा अहिलेको दुई पुस्ताबीचको फरक अलि भिन्न प्रकृतिको छ । हालका आमाबाहरु अभावको जिवन देखि संघर्षयुक्त अवस्थाहरुलाई डोर्¬याउदै गरेका हुन्छन् भने छोराछोरीहरुलाई अभिभावकले कुनै गाउँले एवं अभावको परिवेश साथै आफ्नो संस्कारमा रुझाउन सकेका छैनन् । यसले गर्दा बा आमा र छोराछोरीबीचको अर्थात रगतको सम्बन्ध पनि द्धन्द्धयुक्त हुन सक्छ । अहिलेको प्रबिधीयुक्त युगमा छोराछोरीहरुको पुस्ताले आमाबाको भन्दा छिटो फड्को मारेको देखिन्छ। छोराछोरीहरु प्रबिधी तर्फ उन्मुख छन् । बा आमाहरु आफूले गरेको संघर्षहरु छोराछोरीले बुझिदिउन, उनीहरु पनि केही संघर्सका साथ अगाडी बढ्दै जाउन भन्ने चाहान्छन् तर पछिल्लो पुस्ता सम्पूर्ण कार्य प्रबिधीसँग रमाउँदै गरीरहेका छन् । यसर्थ दुई पुस्ताबीचको खाडल अलि गहिरो देखिन्छ । यहि पुस्तान्तरणमा आएको बिचारलाई दुवै पक्षले ध्यान दिदै दुवै पुस्ताको खाडललाई कम गर्दै रगतको सम्बन्धलाई बलियो बनाउनु सबैको त्यत्तिकै महत्व रहन्छ । रगतको सम्बन्ध जस्तो निश्चल नातालाई अरु चिज वा बस्तुसँग तुलना हुन सक्दैन।
सामाजिक सम्बन्धमा सामाजिक गतिबिधि संलग्न रहन्छन। यसलाई संस्कारजन्य सम्बन्ध पनि भनिन्छ। समाजमा सुख दु:ख परेको बेलामा आफ्नो रितीथिती परम्परा अनुसार एक अर्काको सहयोग आदान प्रदान गर्ने, रितीरिवाज परम्परालाई जोगाई राख्ने सेतुको कार्य सामाजिक सम्बन्धले गर्छ । आजको बदलिदो परिबेशसँगै सामाजिक गतिबिधीमा भईरहेको देखासिखी प्रवृतीले आत्मियता प्रति ह्रास आएको छ। आफ्नो संस्कृतीलाई बेवास्ता गर्दै अन्य संस्कारको अनुशरण गर्दा अमुल्य संस्कार गुम्ने खतरा पनि बढेर गएको छ । अबको चुनौती सामाजिक संस्कारलाई जोगाउदै सम्बन्धलाई अटल बनाउनु हो ।
हामी बिभिन्न पेशा व्यबसायमा आवद्ध छौ । पेशा व्यबसायलाई टिकाई राख्न सुमधुर सम्बन्धको आबश्यकता हुन्छ . भएको सम्बन्धलाई टिकाई राख्नु र नयाँ दर्बिलो सम्बन्ध बनाउनु व्यबसायीक कला हो। आफ्नो पेशालाई मर्यादित बनाउन अति महत्वपूर्ण भुमिका व्यबसायीक वा पेशाको सम्बन्धको हुन्छ। सम्बन्ध सहजहुँदा मात्र व्यबसायमा बढोत्तरी, उन्नतीप्रगती हुने भएकोले पनि व्यबसायीक सम्बन्धलाई प्रगाढ बनाउनु सक्न'पर्छ ।
सुखमा हास्नका लागि, दु:खमा रुनका लागि, समाजमा सामाजिक बन्नका लागि, रमाउनका लागि रिसाउनका लागि, माया, घृणा, मानसम्मान, सत्कार आदि सम्पूर्ण या त आमाको गर्भमा आए देखि चिहानसम्म कुनै न कुनै रुपमा सम्बन्ध आबश्यक छ । यस्तो पवित्र नातालाई एक अर्कामा पूर्णताको आबश्यकता रहन्छ । एकले अर्कालाई बुझौं . माया, प्रेम, विश्वाश, सुख, दु:खमा सारथी बनौं चाहे त्यो बाआमा र छोराछोरीको, श्रीमान श्रीमतीको, दाजु भाई दिदीबहिनीको, साथी साथीवीचको इष्टमित्र कुलकुटुम्ब आदि सम्पूर्णवीचको सम्बन्ध किन नहोस । सम्बन्धको मुख्य उद्देश्य पनि यही हो ।
(लेखक नेपाल न्याय सेवा, नायब सुब्बा पदमा कार्यरत हुनुहुन्छ । )
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार