काठमाडौं २१ फागुन । काठमाडौंको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भईरहेका छन् । इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा फागुन १७ गतेदेखि सुरु भएको इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल ५ दिनसम्म सञ्चालन हुनेछ । “शान्तिको लागि थिएटर, संस्कृतिहरुको आदानप्रदान र दिगो भविष्य संरक्षण“ मूल नारा रहेको फेस्टिभलमा जापान, भारत, चीन, थाईल्याण्ड, बंगलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिङ्गापुर, नेपाल सहित १३ देशका विभिन्न सहरका २ सय बढी रंगकर्मी तथा कलाकारहरू सहभागी भईरहेका छन् ।
महोत्सवको पहिलो दिन हङकङका मोक चि यु द्वारा निर्देशित ‘विभिङ फ्रीडोम’, भारतका नाट्य चेतनाद्वारा प्रस्तुत नाटक ‘देवी’ र दक्षिण कोरियाका नामोदाक मोवेमेन्टको नाटक ‘मिटिङ’ प्रदर्शन भएको थियो । दोस्रो दिन ४ नाटक प्रदर्शन भएका थिए । नेपालको तर्फबाट सर्वनाम थिएटरको प्रस्तुतिमा अशेष मल्लद्वारा निर्देशित नाटक ‘अर्को कुरुक्षेत्र’, राज शाहको नाटक ‘मनोक्रान्ति’, फिलिपिनी नाटक ‘अरीमोमाँगा’ र थाईल्याण्डको नाटक ‘डिसेप्सन अफ द डेमन’ प्रदर्शन भएको थियो । तेस्रो दिन बंगलादेशको नाटक ‘तुम्बा एण्ड द नेईवर’, सिंगापुरको ‘सिक्स माइक्रो लेक्चरस् अन् जेनोसाइड’ र चीनको ग्रास स्टेज थिएटरको ‘बियोन्ड होप एण्ड डिस्पेअर’ प्रदर्शन गरिएको थियो । चौथो दिन हङकङको नाटक ‘तु दु, जापानी नाटककार इन्डी लीको ‘इट वोन्ट बी लङ नाउ’ र नतसुको किरितानीको ‘द ट्रान्स – बोर्डर’ मञ्चन भएको थियो । अन्तिम दिन ‘फरेवेल लेट अस गो टु साउथ’ र फ्रान्सेली निर्देशक म्याक्सिम सिसडद्वारा ‘अ लिटल बर्ड इन द केज’ नाटक प्रदर्शन हुनेछ ।
महोत्सवमा नाटक तथा कला प्रदर्शनीसँगै दैनिक ३ ओटा नाट्यप्रशिक्षण तथा कार्यशालाहरु पनि सञ्चालन भईरहेका छन् । पहिलो दिन बंगलादेशी निर्देशक तथा कलाकार शमिमा शकेत, दोस्रो दिन बेलायती नाट्य निर्देशक तथा कलाकार इन्डी लि, जापानी नाट्य निर्देशक नात्सुको किरितानी तथा हङकङका कलाकार समुहद्वारा कार्यशालाहरु सञ्चालन भएको थियो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार