निर्वाचन प्रचार प्रसार निषेध अवधिमा अवज्ञा गर्नेलाई कडा कार्वाही

काठमाडौं १४ मंिसर । आगामी मसिंर १६ गते हुने स्थानिय उपनिर्वाचनमा मतदान हुने दिनभन्दा अठ्चालिस घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म निर्वाचन प्रचार प्रसार निषेध अवधि यहि मंसिर १३ गते राती १२ः०० बजेदेखि शुरू हुने भएको छ । आगामी मंसिर १६ गते आइतबारका दिन सम्पन्न हुने स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २४ उपदफा ५ र निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भातृ सङ्गठन वा सम्बन्धित व्यक्तिले देहाय बमोजिमको कार्य नगर्न र नगराउन निर्वाचन आयोगबाट निर्देशन गरेको छ ।

निर्वाचन आयोगले निषेध अवधिमा पालना गर्नुपर्ने निम्न बुदाँहरु निर्देशन गरेको छ ।

१. कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचार प्रसार नगर्ने नगराउने ।

२.निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि नगर्ने नगराउने ।

३.कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्ने नगराउने ।

४.सामाजिक सञ्जाल, अनलाईन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर नगर्ने गराउने ।

निर्वाचन प्रचार प्रसार निषेध गरिएको अवधिमा उपरोक्त बमोजिम कार्य भए गरेको पाइएमा केन्द्रिय आचारसंहिता अनुगमन समिति, आचारसंहिता अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समिति, स्थानीय प्रशासन, सुरक्षाकर्मी, अनुगमन अधिकृतबाट समेत सुक्ष्म अनुगमन गरी कहीं कतै आचारसंहिता उल्लंघन गरिएको पाइएमा तत्काल कानून बमोजिम कारबाही गरी मुख्य निर्वाचन/निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन आयोगमा जानकारी गराउन आयोगले आह्वान गरेको छ ।

प्रतिक्रिया