हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइको पहल गर्न परराष्ट्रमन्त्री कतार जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद अर्को हप्ता कतार भ्रमणमा जाँदै छन् । इजरायलमा विद्रोही हमासको कब्जामा रहेका  नेपाली नागरिक विपिन जोशीको रिहाइको पहलका लागि उनी मङ्सिर २३ मा कतार जान लागेका हुन् । 

यसअघि मङ्सिर ८ गते परराष्ट्र मन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाइका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसअघि मङ्सिर ७ गते बिहीबार परराष्ट्र मन्त्री साउदले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए । परराष्ट्र मन्त्री साउदले आज  गृह जिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा विपिन जोशीका बुवा आमासँग पनि भेट गरेका छन् । कतार बसाइँका क्रममा परराष्ट्र मन्त्री साउदले  डिसेम्बर १० देखि सुरु हुने दोहा २१ औँ फोरममा पनि सहभागी हुनेछन्। 

प्रतिक्रिया