सन्तानलाई खुवाउँन पाउँदा आफू अघाउने पात्र हुन् आमा

मन्दिरा दाहाल

काठमाडौं, २० साउन ।

न त परिभाषाले प्रस्ट्याउन सकिने न त व्याख्या गरेरै सकिने शब्द हो आमा । हाँगा विँगा सर्वत्र फैल्याउन सक्ने सुन्दर बोट हुन् आमा । नौ महिना गर्भमा बोकी प्रकृति आमाको आलिङ्गनमा अवतरण गराउने आमाको व्याख्या कसरी गर्न सकिन्छ र < न त गाँस, बास, कपास र सवथोकको व्यवस्था गराईदिने प्रकृति आमाकै बर्णन गरेर सकिन्छ । गर्भमा रहँदा आमाले खाएको खाना र फेरेको श्वासबाट बाँचेका हामी जन्म पश्चात प्रकृति आमाको काखमा बसी स्वास फेरी रहेका हुन्छौं । खाना, दाना, पानी र छाना सवथोक यही प्रकृति आमाकै आलिङ्गनमा पाइरहेका छौं । यसर्थ यी दुई आमाहरु अति महान छन् । 

महान आमाहरुका सन्तान हामी कस्ता छौं त ? के साच्चिकै महान छौं त < कि दानव < हरेक सन्तानले आफूतिर फर्किएर हेरे प्रस्ट हुन सकिएला । हुन त हाम्रो आँखा अर्कोतिर फर्किएर बनेका छन् । त्यसैले हामी हरपल अरुतर्फ नै फर्किरहेका हुन्छौं । आफू कस्तो छु < मैले के गर्नुपर्छ भनेर हेर्ने,मनन गर्ने त के < सोच्ने समेत फुर्सद र हेक्का राख्दैनौं । लहै लहै र भुल भुलैयामै जिन्दगी व्यतित गरिरहेका हुन्छौं । हाम्रो जिवनको लक्ष्य के हो <? अस्तित्व के हो < हामी के को निम्ति मनुष्य जुनिमा आउने मौका पाएका छौं भनेर हामी प्रायले एक रत्ति हेक्का राख्दैनौं । यस्तो सुवर्ण अवसर दिलाईदिने ममतामयी आमाको देन र महत्वलाई राम्ररी बुझ्न सन्तान हुनुको जिम्मेवारी पुरा गर्न सक्नुपर्छ । आज गाउँ गाउँमा आमा बुवाहरु एक्लिरहनुभएको छ । शहरका सन्तान विदेश पलायन भईरहेका छन् भने गाउँका सन्तान शहर पलायन भइरहेका छन् । अहिले गाउँ घरतिर मलामी जाने मान्छे समेत पाइदैन । गाउँ खाली भइसक्यो । प्रायः हरेक गाउँमा बुढाबुढी भएका बुवा आमा मात्रै भेटिनुहुन्छ । दिन प्रतिदिन सन्तानहरु सुबिधामुखी भईरहेका छन् भने आमाहरु एक्लिरहनुभएको छ । आमाहरु धन सम्पतिको चाह राख्नुहुन्न । बुढी हँुदै गएपछि सन्तानले बोलाउने गरुन्, सगैँ बसुन्, दुःख सुख नियालुन् र साहारा बनुन् भन्ने चाहनुहुन्छ । अहिलेको पुस्ताको आमाहरु त, के छोरा के छोरी दुवै प्रति बराबरी भरोषा राख्नुहुन्छ । तर हाम्रो आमाहरुको पुस्ताको आमाहरु भने छोरीको भन्दा छोराको आशा र भरोसामा बढि तड्पिनु हुन्छ । चाहना पनि छोरा सँगकै बसाईको राख्नुहुन्छ । कस्तो बिडम्वना छोरा छोरा छोरा भनेर मरिहत्ते गर्नुहुन्छ । चाहे छोराले जति नै बेवास्ता गरोस् तर छोराकै साथ र भरोसाकै त्यान्द्रो लिएर तड्पी–तड्पी बाँच्नुहुन्छ । 

प्रकृतिकै अनुपम उपहार हो कि छोरी बढि भावुक हुन्छन् । छोरा मष्तिस्कमा र छोरी भावनामा बाँच्ने हुदा अपवाद वाहेक प्राय छोरीले आमा रुएको, तड्पेको र आमाको दुः ख हेरेर बस्नै सक्दैनन् । आफुलेपनि सन्तान जन्माएपछि त झन बढि आमाको दुःख र महत्व बढी महसुस गर्छे छोरीले । त्यसमाथि एक्लै रहेर आफ्नो खुट्टामा उभिएकी छोरीको त न्यास ध्यानै सिर्फ मातापिता र सन्तानप्रति हुने रहेछ । हुनपनि त हो आफुलाई जन्म दिने र आफुले जन्म दिएकाहरुको विशेष निगरानी हर कसैले राख्नै पर्छ । त्यो त हरेक व्यक्तिको कर्तव्य र जिम्मेवारी हो । तर कतिपय छोरा आफुलाई जन्म दिनेलाई बेवास्ता गर्दै आफुले जन्म दिएकासँग मात्रै भुलिरहेका र रमाईरहेका भेटिन्छन् । यो सरासर गलत हो । जति महत्व छ सन्तानको त्यति नै महत्व छ मातापिताको पनि । यो श्रृष्टिमा हरेक व्यक्तिको कर्म नियाँलिरहेकी हुन्छिन् माँ प्रकृतिआमाले । हरेकले कर्मको सिद्धान्तलाई भोग्नै पर्छ । आफुले जस्तो कर्म गर्यो त्यस्तै कर्म त आफ्ना सन्तानले पनि जरुर गर्नेछन् । माँ प्रकृति आमा हाम्रो हरेक कर्मलाई नियाल्न हरपल तैनाथ रहनुहुन्छ । हामी कर्म गर्न स्वतन्त्र छौं तर फल भोग्न बाध्य हुनुपर्छ । समाजका कतिपय छोराहरु आफुले भित्र्याएका अरुका छोरी र तिनै छोरीले जन्माएका सन्तानप्रति मात्रै उत्तरदायी देखिएका छन् । आफुलाई जन्माउने आमाको मर्म र ति ममतामयीको मौन भाषालाई नियाल्न नसक्ने सन्तान के सन्तान ? अझ हार गुहार मागेकी आमाको चित्कार समेत सुुन्न नसक्ने कस्ता कुसन्तान ? छोरीको भरोसा र विश्वास गरी श्वास धान्न नसक्ने कत्ति डरपोक आमा । कति विवस श्वास फाल्न ? विचरा आमा न त आफ्नो सन्तान खराव छ,हेरेन भन्न सक्छिन् ? न त मेरो बेवास्ता गर्छ भनेर कसैसँग कहन नै सक्छिन् आमा । म आमा बनेपछि मैले पनि अनुभव गरेँ की आफुले मेरो सन्तान नराम्रो छ त के ? अरुले सन्तानको बारेमा नराम्रो भन्दा समेत पिडा हुने रहेछ । विचरा आमा ,मर्ने अन्तिम घडिसम्म पनि भनिरहन्छिन्, मेरो छोरा छैन र म छोरीकोमा गएर बस्न भनेर । 

कस्ता सामाजिक प्राणि हौं हामी ? हामीद्वारा नै निर्माण भएको समाज हैन र यो ? यदि छोरी विदेशमा भए ६ महिना वर्ष दिनसम्म आमा विदेशमा छोरीसगँ जाँदा ईज्जत हुने तर देश भित्रैकी छोरीकोमा गएर बस्दा छोरा नभए पो बस्नु, छोरीकोमा गएर बस्दा समाजले के भन्छ भन्ने, कस्तो विडम्वना ।  आमाले छोरीभन्दा मृत्यु रोज्न बाध्य बनाउने कस्तो डर र त्रास भर्दैछौं हामी कुलंघार सन्तान ? त्यसो त दुनियाका आमा बाटामा माग्दै गरेको दृश्यपनि देखिन्छ । अरु एक्लिएका आमापनि खुल्न सक्ने, बोल्न सक्ने हो भने छोरीसगैँ बस्न पनि सक्नुपर्ने हो नि । तर विडम्वना हामी छोराको नाममा न आफु जिम्मेवारी पुरा गछौँ न त आमालाई एक्लाउन अंकुस लगाउनै छोड्छौं । यो कस्तो देखावटी पन र खोक्रो आडम्वर हो । यो कुपुत्रले मनन गरेर आफुलाई सुधार गर्ने कुरा हो । नत्र त यो सरासर दानव पन हो । मृत्यु सम्म रोज्न सक्ने तर छोरीको घर रोज्न नसक्ने यो कस्तो जटिल पिडा हो । सोच्दै पनि शरीर जिरीङ्ग हुन्छ झन भोग्दा कस्तो होला ? न कानुनमा जान सकिने, न सन्तान खराव छ भनि ओकल्न सक्ने । पिडै पिडामा बाँचेकी र पिडा सहन नसकेर मर्न बाध्य बनेकी आमाको तस्विर अरुलाई देखाउन फेसबुकमा राखेर हामी पाउछौं के ? खुट्टा फुटेर चरचरी भएकी आमाको अनुहारलाई ब्युटी क्यामराले सिगांरेर दुनियाँलाई देखाउदैमा मिल्छ के ? मातृत्वकी खानी आमालाई रुवाउदा के आफु रुनु पर्दैन र ? जरुर कर्मको फल त भोग्नै पर्छ । 

त्यसो त कतिपय छोराहरुले आमालाई शीरमा राखि सर्वस्व ठानेर साथ सहयोग गरिरहेकोपनि देख्न सकिन्छ । यो यति उज्यालो र राम्रो पक्ष हो जुन वर्णन गर्न समेत सकिदैन । वास्तवमा आमाहरु केहि चाहदैनन् , मिठो बोली  र राम्रो व्यवहारको आसा गर्छन् । सन्तान अगाउदा आफ्नो पेट भरिएको महसुस गर्ने ति ममतामयी आमालाई सन्तानले दिनपनि के सक्छ र ? 

कतिपय आमाहरुलाई छोराछोरी दुवै मिलि सन्तोष दिलाइरहेका घट्ना पनि छन् समाजमा, तरपनि हाम्रो आमा पुस्ताका आमाहरु छोरासगैँ ढल्किन र छोराकै सन्तानको स्याहार सुसारमा रमाउन लालयीत देखिनुहुन्छ । यो उहाँहरुले सुन्दै,देख्दै र भोग्दै आउनुभएको परम्पराले आफूमा पनि जरा गाडेको हो । यहि समाजमा प्रशंसा गर्न लायक छोराहरु पनि हुनुहुन्छ । आमाको चाह र इच्छा अनुसार दिदीबहिनिलाई प्रेम सम्मानले शीरमा राखी आमालाई साथ दिई खुशी र सुखी बनाइरहेका छन् । खासमा असल सन्तानमा हुनुपर्ने गुण पनि यहि हो । यदि यसो भएमा भगवानको हरपल साथ, सहयोग, सुरक्षा र आशिर्वाद प्राप्त भइरहने छ । आखिर यो जन्म भनेको दुई दिनको पाहुनाका निम्ति भएको हो । आखिरीमा कसले पो के लिएर आएको थियो र ? फेरी जादा पनि के नै पो लिएर जान्छ र ? लाने भनेको यहि कर्म नै हो । अरुप्रति त सत्कर्म गर्न अघि सनुपर्छ भने आफ्नी आमाप्रति सत्कर्म गर्नु पदैन र ? त्यसैले देखावटी र बनावटीमा आमालाई नियाल्ने नगरौँ । अन्ततः यसले आफैभित्रको देहलाई रुवाउछ । जति तपाई नित्य कर्ममा अभ्यस्त हुनुहुन्छ त्यति तपाई खुशी, आनन्द्ध र सुखमा रमाउनुहुने छ । हामीले आफुभित्र आफुलाई खोज्न सकेको हुनुपर्छ । म को हुँ ? किन आएँ ? मेरो अस्तित्व के हो ? बुझ्न सकेको हुनुपर्छ । बोध गर्दै धारण गर्न सकेको हुनु पर्छ । यसो भएमा न कसैप्रति रिसराग र घमण्ड रहुन्छ , न त आमाप्रतिको कर्तव्यबाट नै टाढा हुनु पर्छ । त्यसैले हरपल हाम्रो सुरक्षामा तैनाथ आमालाई बुढेसकालमा एक्ली महसुस हुन नदिऔं । 

मातातिर्थ औंसीको दिनमा मात्रै आमालाई सम्झिने हैन हरपल हरघडी आमालाई नविर्सिने गरौं । दुनियाँको अगाडि एउटा फोटो सञ्जालमा भजाएर आमाको मन गह्रुगों नबनाऔं । आमाको मुख त के गोडा हेर्न नालायक कुसन्तानले एकदिन आमाको प्रशंसा गर्नु नितान्त देखावटीपन हो । कुसन्तानले आमाको मुख के हेर्न सक्छ र ? बरु आमाको मुख हेर्न लायक सन्तान बनौं ।

प्रतिक्रिया