पाँच गीतका भिडियो सार्वजनिक

काठमाडौं १३ फागुन ।  स्रष्टा अमर बान्तुका एक साथ पाँच गीतका भिडियो सार्वजनिक गरिएको छ । शनिबार काठमाडौंको कमलपोखरीस्थित सिटी सेन्टरमा मिलाप मासिकको आयोजनामा गीतकार, संगीतकार, गायक एवं कवि बान्तुका पाँच गीतको भिडियो सार्वजनिक गरिएको हो । समारोहमा ‘हरपल हरक्षण’, ‘माया हलुका हल्का’, ‘मनको फूलबारी’, ‘सम्बन्ध’ र तिम्रै प्रवाह’ गीतका भिडियो सार्वजनिक गरिएको थियो । सबै गीतका भिडियोलाई शान थापाले निर्देशन गर्नुभएको हो ।

‘हरपल हरक्षण’ मा शब्द एवं संगीत अमर बान्तुको रहेको छ भने स्वर मनोज थापा र सुनिता थेगिमको छ । यस्तै ‘हलुका हलुकमा’ पनि शब्द एवं संगीत अमर बान्तुको छ भने सत्यराज आचार्य र सहिमा श्रेष्ठले स्वर दिनुभएको थियो । त्यस्तै ‘मनको फूलबारीमा पनि शब्द एवं संगीत अमर बान्तुको छ भने स्वर सारिका घिमिरे र बिसी राईको छ । यस्तै, ‘सम्बन्ध’मा एसी कोइराला शब्द, संगीत अमर बान्तुको छ भने स्वर प्रताप दासको छ । त्यस्तै ‘तिम्रै प्रवाह’मा अमर बान्तुको गायन, शब्द र संगीत रहेको छ । यो गीतको भिडियोमा बान्तुलाई भावना राईले अभियनमा साथ दिनुभएको छ । सबै गीतका भिडियोलाई दिनेश पराजुलीले छायांकन गर्नुभएको हो ।

गीतसंगीत, साहित्य तथा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको पाँच सयको हाराहारीमा उपस्थिति रहेको समारोहमा मिलापका सम्पादक कृष्ण भुसालको सभापतित्व रहेको थियो भने पूर्वमन्त्री एवं गीतकार एसपी कोइरालाले स्वागत मन्तव्य राख्नुभएको थियो ।


प्रतिक्रिया