प्रधानमन्त्रीको राष्ट्रको नाममा आज सम्बोधन माओ दिवस प्रति प्रचण्डले गरे संकेत

पुस १०, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पछिल्लो पटक प्रधानमन्त्री बनेको  २०७९ पुस १० बाट आज एक वर्ष पुगेको अवसरमा आज राष्ट्रको नाममा सम्बोधन गर्दैछन् । राष्ट्रको नाममा सम्बोधनको क्रममा आफूले भन्ने विषयबारे उनले आज एक सार्वजनिक कार्यक्रममा संकेत गरे । ३१ औं माओ जयन्तीको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान आयोजित कार्यक्रममा प्रचण्डले एक वर्षको अवधिमा गरेका राम्रा काम र राम्रो गर्न नसकेको काम सम्बोधनमा समेट्ने जानकारी दिए । उनले आगामी वर्षमा प्राथमिकता दिने कामबारे पनि जानकारी गराउने बताए ।

यसअघि प्रचण्ड २०६४ र ०७४ मा पनि प्रधानमन्त्री बनेका थिए । प्रधानमन्त्री प्रचण्ड आफैंले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गर्दै अब नयाँ ढंगले काम गर्ने सार्वजनिक घोषणा गर्दै आएका छन् । त्यसका लागि पुस महिनादेखि नै सिंहदरबारस्थित कार्यालयमा बिहान १० बजे नै पुग्ने र मन्त्रालयसँग व्यवस्थित रुपले छलफल गरेर परिणाम निकाल्ने तयारी गरिरहेको उनले जानकारी दिए । अरुलाई उपदेश दिनुभन्दा परिणाम निकाल्ने कामको सुरुवात आफैंबाट थालेको बताउँदै प्रधानमन्त्री प्रचण्डले भने, ‘आज जनतासँग पनि त्यो कुरा भन्ने छु ।’

उनले थपे, ‘मैले पहिले अरुलाई तिमी यो गर भनेर उपदेश दिनुभन्दा प्रधानमन्त्रीले नै आफ्नो कार्यशैलीमा अर्को ठूलो परिवर्तन ल्यायो भन्ने जनताले देखुन् भनेर पुस लागेपछि नै मैले आफ्नो कार्यशैलीलाई पनि अझ बढी परिणाममुखी बनाउने, अझ मन्त्रालय, कर्मचारीतन्त्र सबैलाई पनि युनिफाइड ढंगले, परिणाम दिने ढंगले नेतृत्व गर्ने तयारी सुरु गरिसकेको छु ।’

उनले जनतालाई आश्वासन दिनुभन्दा आफूले गरिसकेका र आगामी लक्ष्यबारे जानकारी दिने बताए । ‘म आज जनतालाई केही भन्दैगर्दा म यो गर्छु, त्यो गर्छु होइन, मैले गर्न सुरु गरिसकेको कुरा भन्छु, अनि गर्ने लक्ष्यहरु पनि भन्छु,’ प्रधानमन्त्री प्रचण्डले भने । विगत एक वर्षको कार्यकालमा केही रेकर्ड बनाएको दाबी गर्दै प्रधानमन्त्री प्रचण्डले आगामी वर्ष अझ धेरै रेकर्ड बन्ने गरी काम गर्ने बताए । ‘मलाई लाग्छ गएको साल केही त रेकर्ड बनेका छन्, केही रेकर्ड नबनेका होइनन् । गहिरो गरी हेर्नेहरुले त्यो कुरालाई महसुस गरेका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘अर्को वर्ष अझ धेरै रेकर्डहरु बनाउनैपर्छ ।’ सेवाको क्षेत्रमा, विकासको क्षेत्रमा र सुशासनको क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

चुनौतीहरुको बीचबाट सुशासन, सामाजिक न्याय र समृद्धिको क्षेत्रमा समाजवादको भ्रुण रोप्ने कोसिस गरिरहेको पनि उनले बताए । ‘हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको नारा अन्तर्गत समाजवादको आधार तयार पार्न सबैले ध्यान दिनुपर्ने कुरा के छ भने यो सुशासन, सामाजिक न्याय र समृद्धि भनेको फेरि अल्टिमेटली हाम्रो नेतृत्वमा समाजवादको आधार तयार पार्ने भनेको हो भन्ने कुरा कमसेकम हाम्रा सबै नेता–कार्यकर्ताहरुले राम्रोसँग बुझ्न जरुरी छ । यी तीनवटामा समाजवादका भ्रुणहरु रोप्ने कोसिस भइराख्या छ । तर कति धेरै चुनौती छन् भन्ने कुरा तपाईं हामीले बुझेका छौं । चुनौतीको बीचबाट हामीले प्रयास गरेका छौं ।’

प्रतिक्रिया