नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेकाले धरौटी बुझाउन नसकेपछि छुटेनन्

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउन संलग्न रहेको अभियोग लागेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाललाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिए पनि उनी छुटेका छैनन्।

मंसिर १५ गते अदालतले रिजालसहित ७ जनालाई धरौटीमा छाड्न आदेश दिएको थियो। तीमध्ये धरौटी बुझाएर ६ जना छुटिसकेका छन्।

उच्च अदालत पाटनका न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलको इजलासले रिजाललाई १५ लाख रुपैयाँ धरौटी बुझाउन आदेश दिएका थिए।

तर बिहीबारसम्म रिजाल थुनामै छन्। रिजालले धरौटी बुझाएका छैनन्। 

‘उहाँ (टेकनाथ रिजाल) ले तोकिएको धरौटी बुझाउन खासै चासो दिनु भएको छैन,’ केन्द्रीय कारागार सुन्धाराका जेलर ललित बस्नेतले सी एफ एन खबर सँग भने, ‘धरौटी बुझाउन आफूसँग त्यत्रो पैसा छैन भन्नु भएको छ। यहाँ पनि ठिकै छ भन्ने खालका कुरा गर्नुहुन्छ।’ 

कोही आफन्तले धरौटी रकमको जोहो गरिदिए आफू थुनामुक्त हुने उनले बताउने गरेका छन्। ‘कसैले धरौटी तिरिदिए बाहिर निस्कन्थें होला नभए यहीँ ठिकै छ,’ रिजालका भनाइ उद्धृत गर्दै जेलर बस्नेतले भने।

टेकनाथलाई भेट्न उनकी श्रीमती कारागार गइरहन्छिन्। कहिलेकाहीँ आफन्त र साथीहरू पनि जाने गर्छन्। रिजाललाई सुरूमा अन्य अभियुक्तहरूसँगै राखिएको थियो। तर उनले आफू अरू कैदीबन्दीसँग बस्दिनँ भनेपछि बेग्लै ठाउँमा बस्ने व्यवस्था गरिएको थियो।

रिजाललाई गत असार १ गते अन्य अभियुक्तहरूसँगै केन्द्रीय कारागार लगिएको थियो।

‘पहिले साथमा औषधी नभएको भन्ने कुराले उहाँ आत्तिनुभएको थियो। अहिले ठिकै हुनुहुन्छ, कुराकानी गर्नुहुन्छ। भुटानको कारागारभन्दा यहाँ (नेपालमा) अलि सजिलो रहेछ भन्नुहुन्छ। भुटानको कारागारमा धेरै दु:ख पाएँ भन्नुहुन्थ्यो,’ जेलर बस्नेतले भने। रिजाललाई भुटानी सरकारले १० वर्ष जेलमा राखेको थियो। उनी सन् १९९९ डिसेम्बर १७ मा भुटानी कारागारबाट छुटेका थिए। 

रिजाल कारागारभित्र प्राय: किताब पढ्छन्, केही लेख्छन्। कारागारभित्र पुस्तकालय पनि छ। ‘उहाँ किताब पढ्नुहुन्छ। केही टिपोट गर्नुहुन्छ,’ उनले भने, ‘किताब लेख्ने तयारी हो कि!’ 

उनीसँगै थुनामा परेका हरिभक्त महर्जनले १५ लाख, हज समितिका अध्यक्ष शमशेर मियाँले १० लाख, पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव नरेन्द्र केसीले १० लाख, रामशरण केसीले १५ लाख बुझाएर छुटिसकेका छन्।

साथै पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपले बुधबार ३० लाख रुपैयाँ धरौटी बुझाएर कारागारबाट थुनामुक्त भएका थिए। साधारण तारेखमा रहेका आशिष बुढाथोकी पनि छुटिसकेका छन्।

कारागारभित्र दुई पूर्वमन्त्री पनि छन्। नेकपा (एमाले) का नेतासमेत रहेका पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाण थुनामै छन्। खाणका विषयमा न्यायाधीशहरूबीच राय बाझिएको थियो।

यो प्रकरणमा पूर्वसचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, सागर राई, गोविन्दकुमार चौधरी र आङटावा शेर्पा पनि थुनामै छन्।  

सानु भण्डारी, केशव दुलाल र सन्देश शर्मालाई भने ललितपुरको नख्खुस्थित कारागारमा सरूवा गरिएको छ। सानु र केशवको केही समयअघि नै सरूवा गरिएको थियो भने सन्देश शर्मालाई हालै त्यहाँ लगिएको हो।

जिल्ला अदालत काठमाडौंले धरौटी मागेका लक्ष्मी महर्जन, टंक गुरूङ र केशव तुलाधरलाई उच्च अदालतले साधारण तारेखमा राखेको थियो। जिल्लाले लक्ष्मीसँग ५ लाख, टंकसँग १० लाख र केशवसँग १५ लाख धरौटी मागेको थियो। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका २० जनाविरूद्ध ठगी, लिखत कीर्ते, राज्य विरूद्धको अपराध र संगठित अपराधमा गत जेठ १० गते काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो।

अदालतले गत असार १ गते १७ जनालाई थुनामा पठाएर तीन जनालाई धरौटी माग गरेको थियो। यसमा सरकारी वकिल कार्यालयले ३० जनालाई प्रतिवादी बनाएको थियो। तीमध्ये १० जना अझै फरार छन्।

प्रतिक्रिया